नेवाः ऐक्यवद्धता अभियान, नेपाल

    बक्तव्य

गत माघ २८ गते बत्तीसपुतली स्थित होटल द्वारिकाजमा घटेको हुलहुज्जतको घटनाले यस अभियानको गम्भीर ध्यान आकषिर्त गरेको छ र परिस्थितिको गम्भीरताले अत्यन्त चिन्तित तुल्याएको छ । समाचारमा आए अनुसार उक्त हुलहुज्जत होटल द्वारिकाजले चर्चेको ४ रोपनी जग्गाको स्वामित्व सम्बन्धमा स्थानीय मूलपानी गाविसका कृष्णमुरारी ढकाल र होटल संचालिका श्रीमति अम्बिकादेवी श्रेष्ठ बीच चालिस वर्षअघिदेखि विवाद भई आएको बुझिन्छ । यस सम्बन्धमा दुबै पक्षले कानूनी उपचारका लागि प्रयास गरेकै हुनु पर्छ । नगरेको भए गर्नु पर्दथ्यो । तर कानून बमोजिम नचलिकन जुन पक्षबाट हुलहुज्जत र तोडफोड गर्ने काम भएको छ, त्यो अत्यन्त निन्दनीय छ । यसले कानूनी शासनको र्सवमान्य सिद्धान्तको उपहास मात्र गरेको छैन चुनौति समेत दिएको छ र हुलहुज्जत, गुण्डागर्दी, तोडफोड र आतंकको माध्यमबाट जग्गा भोगचलनको हक स्थापित गर्ने दुस्प्रयासको एउटा घृणित उदाहरण प्रस्तुत गरेको छ । हामी यस्ता अवान्छित र असामाजिक कृयाकलापको कडा भत्र्सना गर्दछौं र पीडित पक्षप्रति सहानुभूति प्रकट गर्दै दुबै पक्षलाई सयंमित भई कानून बमोजिम चल्न र अदालतको फैसलालाई सम्मान गर्न आग्रह गर्दछौं ।
यसै क्रममा होटल मजदुरहरुले हस्तक्षेप गरी घटनालाई उग्र हुनबाट रोक्ने जुन काम भएको छ, त्यसको यस अभियान मुक्त कण्ठले सराहना गर्दछ तर विवादका पक्षहरुलाई सबूद प्रमाण पेश गर्न ७ दिने अल्टिमेटम दिएर मजदुरहरुबाट पनि गल्ती भएको छ । स्थितिलाई काबुमा ल्याउन मात्र त्यसो भनिएको हो भने हाम्रो केही भन्नु छैन । तर साँच्चिकै मजदुर युनियनले नै विवादको फैसला गर्ने हो भने यो अर्को अराजकता हुनेछ । त्यसै गरी होटल भत्काउन भनी डोजर ल्याइएको भनिएको छ । डोजर जस्तो उपकरण कि सरकारसंग हुन्छ कि ‘क’ वर्गको निर्माण व्यवसायीसंग मात्र हुन सक्छ । त्यस्तो उपकरण दुई व्यक्ति बीचको विवादमा दुरुपयोग गर्ने प्रयास हुनु खेदजनक कुरा हो । उल्लेखित विवाद कुनै राजनीतिक समस्या होइन, देवानी मुद्दा हो । त्यसैले त्यसको फैसला अदालतबाटै हुनु पर्छ । तर्सथ कानून आफ्नो हातमा लिने प्रयास कतैबाट र कसैबाट नहोस् भनी हामी सम्बद्ध सबै पक्षसंग आग्रह गर्न चाहन्छौं ।
केही दिन अघि मात्र मधेशीहरुको जायज एवं शान्तिपूर्ण आन्दोलनलाई सरकारले समयमै सम्बोधन नगर्दा र त्यसमा घुसेका देशी विदेशी विखण्डनवादी तथा आतंककारीहरुलाई गृह प्रशासनले समयमै नियन्त्रणमा नलिंदा तीन दर्जनभन्दा बढी मधेशी सपुतहरुले अनाहकमा ज्यान गुमाउनु पर्यो । केयौं घर लुटिए, जलाइए । कैयौं मानिसहरु विस्थापित भए । राजधानी उपत्यकामा दिनहुँ जसो लुटपाट र हत्याका घटनाहरु बढिरहेका छन् । आज दिनदहाडै सयौंको संख्यामा आएका उद्दण्डहरुको जत्थाले विदेशी पाहुनाहरु बसिरहेको होटलमा तोडफोड गर्दा र देशको एकजना अग्रणी महिला व्यवसायी, समर्पित समाजसेवी तथा सम्मानित नागरिक श्रीमति अम्बिकादेवी श्रेष्ठको हुर्मत लिंदा समेत स्थानीय गृह प्रशासन तमासे भएर बसेको देख्दा यो मुलुकमा राज्यको अस्तित्व र उपस्थिति नै नभएको महसुस भइरहेको छ । घटनाका लागि जिम्मेवार उद्दण्ड तत्वहरुलाई तुरुन्त कार्वाही गरी सुरक्षा व्यवस्था चुस्त बनाउन र आफ्नो पदीय दायित्व वहन गर्न असक्षम तथा गैर जिम्मेवार गृहमन्त्री कृष्णप्रसाद सिटौला र उपत्यका महानगर प्रंहरी प्रमुख दीपकसिंह थाङदेनलाई तुरुन्त पदमुक्त गर्न यस अभियान नेपाल सरकारसंग जोडदार माग गर्दछ ।

महेश्वर श्रेष्ठ
कार्यकारी सचिव
नेवाः ऐक्यवद्धता अभियान, नेपाल
ने.सं. ११२७ सिल्लागा ११
इ.सं. २००७ फेब्रुअरी १३
वि.सं. २०६३ फागुन ०१